भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने माओवादी योजना खुलासा


 


मुम्बर्इ, जेठ २५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्‍यन्त्र भइरहेको खुलासा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकै शैलीबाट हत्या गर्ने षडयन्त्रको योजना सार्वजनिक भएको हो ।

महाराष्ट्रको पुनेस्थित प्रहरीले भारतीय माओवादीको आन्तरिक सञ्चारबाट उक्त योजना पत्ता लगाएको हो ।

‘हामी एक राजीव गान्धी प्रकारको घटनाका बारेमा सोचिरहेका छौं । यो आत्मघाति लाग्न सक्छ र एउटा राम्रो मौका पनि हो,’ कमरेड प्रकाशलाई सम्बोधन गरिएको माओवादीको पत्रमा भनिएको छ, ‘हामी असफल हुन सक्छौं तर हामीलाई लाग्छ पार्टीको पोलिब्युरो÷केन्द्रीय समितिको हाम्रो प्रस्तावमाथि विचार गर्नु आवश्यक छ । आफ्नो रोड सोलाई लक्षित गर्न एक प्रभावी रणनीति बनोस् ।’

मोदीको नेतृत्वमा हिन्दु फासीवादी शासनले स्वदेशी आदिवासीहरूको जीवनलाई भयभित बनाएको माओवादीको आरोप छ । १५ भन्दा बढी राज्यमा भारतीय जनता पार्टीले सरकार बनाएको र यही गति कायम रहे सबै मोर्चामा आफूहरूले अत्यधिक समस्या बेहोर्नुपर्ने पत्रमा उल्लेख छ । ‘सोही कारण मोदी राजको अन्त्यका लागि कमरेड किसनलगायत वरिष्ठ साथीहरूले ठोस कदमको प्रस्ताव गरेका छन्,’ पत्रमा भनिएको छ ।

प्रहरीले उक्त पत्र माओवादीका पाँच जना समर्थकको गिरफ्तारीका क्रममा फेला पारेको हो । गत बुधबार एक दलित कार्यकर्ता, एक प्राध्यापक र प्रधानमन्त्री ग्रामीण विकास परियोजनाका एक पूर्वकर्मचारीसहितका पाँच जनालाई पक्राउ गरेको थियो ।

विपक्षी दल कंग्रेस–आईका नेता सञ्जय निरुपमले भने त्यसलाई प्रधानमन्त्री मोदीकै पुरानो रणनीतिका रूपमा व्याख्या गरेका छन् । ‘उनले गुजरातको मुख्यमन्त्री छँदा लोकप्रियतामा ह्रास आउन थालेपछि यस्तै षडयन्त्रको प्लट तयार पारेका थिए,’ निरुपमले भने, ‘त्यसैले यसपटक यसको सत्यतथ्य अनुसन्धान गर्नुपर्छ ।’

महाराष्ट्रको गृह मन्त्रालय स्रोतका अनुसार प्रहरीले यस्ता दुई वटा पत्र अदालतमा पेश गरेको छ, जसमा मुख्यमन्त्री देवेन्द्र फडनाभिस र उनको परिवारमाथि ‘थ्रेट’ दिइएको छ । हालै गाडचिरोली भन्ने ठाउँमा भएको ‘इन्काउन्टर’मा धेरै माओवादी कार्यकर्ता मारिएका थिए । सोही घटनाको बदला लिन माओवादीले यस्तो योजना बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । साभार– नेपाल समय डटकमबाट

 

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्