पराजयको झोकमा कड्किए देउवा- ‘अन्तर्घात गर्नेलाई छोडिन्न’


 


काठमाडौं, जेठ २५
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनताका अन्तरघात गरेर पार्टीलाई नै पराजयतिर धकेल्ने जोसुकैलाई पनि कारबाही गर्ने बताएका छन् ।

कांग्रेसले शुक्रबार धनगढीमा आयोजना गरेको १६ औं राष्ट्रिय महाधिवेशनपछिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । अन्तरघातको कारण नेपाली कांग्रेसले पराजय भोग्नु परेको उल्लेख गर्दै उनले अब नेपाली कांग्रेसलाई सदाको लागि अन्तरघात रहित पार्टी बताउने दावी गरे ।

पार्टीमा अन्तरघात रहेसम्म नेपाली कांग्रेस बलियो हुन नसक्ने धारण राख्दै सभापति देउवाले अन्तरघात गर्नेलाई अब कडा भन्दा कडा कारवाही गर्ने बताए । पार्टीले प्रत्यक्ष तर्फ पराजय भोगेपनि समानुपातिक प्रणालीबाट सम्मानजनक मत प्राप्त गरेकोले पार्टी कार्यकर्तालाई नआतिन उहाँले आश्वासन दिए ।

अर्को प्रसंगमा बोल्दै सभापति देउवाले केपी ओली नेतृत्वको सरकारलाई लम्पसारबादको संज्ञा दिए । ओलीको लम्पसारबादकै कारण प्रदेश नम्बर ७ को गौरिफण्टा नाका स्तरोन्नतिको प्रक्रियामा जान नसकेको बताए ।

यस्तै, नेपाली काग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले केपी ओली सरकारले देशमा मूल्यवृद्धि गरेर क्रान्तिमा छलाङ भन्दै व्यंग्य गरे । उनले सरकारले ल्याएको बजेट पनि ईतिहासमै अलोकप्रिय रहेको बताए । उनले अब प्रदेश सरकारले पनि राम्रो बजेट ल्याउन नसक्ने दाबीसमेत गरे ।

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्