फेरि एकतामा प्रयासमा तीन राप्रपा, थापा अध्यक्ष त्याग्न तयार


 


काठमाडौं, जेठ २५
एउटै राजनीतिक पृष्ठभूमि र सिद्धान्त बोकेका राप्रपा धारका तीन दल यतिबेला पुनः पार्टी एकताका लागि जुटेका छन्।

विभाजनपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) भएका तीनवटै राप्रपा धारका दल पुनः एकताका लागि जुटेका हुन्। अन्नपूर्णमा खबर छ ।

स्थापनादेखि नै टुटफुट र गुटको राजनीतिबाट गुज्रिँदै आएको राप्रपा सैद्धान्तिक कारणले भन्दा पनि शीर्ष नेताबीचको व्यक्तिगत टकरावका कारण तीन चिरामा विभाजित भएको थियो।

दोस्रो तहका नेताबीच पार्टी एकताका लागि छलफल भइरहेको राप्रपाका प्रवक्ता भुवन पाठकले बताए। ‘तीनै दलका नेता एकताका पक्षमा छन्। यसलाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन दोस्रो तहका नेता अनौपचारिक छलफलमा जुटेका छन्’, उनले भने।

पार्टी एकताका लागि राप्रपाले वार्ता समिति नै बनाइसकेको छ। राप्रपा प्रजातान्त्रिकको मंगलबार बसेको उच्चस्तरीय कार्यसम्पादन समिति बैठकले पनि समान विचार र धार भएका दलबीच पार्टी एकताका लागि पहल गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। एकीकृत राप्रपा राष्ट्रवादीले पनि राप्रपा धारका दलसँग एकताको पहल भइरहेको जानकारी दिएको छ।

राप्रपा अध्यक्ष कमल थापाले एक साताअघि सार्वजनिक कार्यक्रममा पार्टी एकताका लागि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई आह्वान गरेका थिए। उनले पार्टी एकताका लागि अाफू पार्टी अध्यक्षसमेत त्याग्न तयार रहेको बताएका थिए ।

 

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्