गोली प्रहार गरेर साढे ९ लाख लुट्ने गिरोह सार्वजनिक


 


धनगढी, जेठ २२
धनगढीमा एक हप्ताअघि एक आईएमईका कर्मचारीमाथि गोली प्रहार गरेर साढे ९ लाख रकम लुट्ने लुटेरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको आयोजना लुटपाटमा संलग्न मुख्य योजनाकारसहित पक्राउ परेको पाँच जनालाई सार्वजनिक गरेको हो । उनीहरुले लुटेको साढे ९ लाखमध्ये बरामद गरिएको साढे ५ लाख नगद, पेस्तोल र त्यसमा लाग्ने गोली पनि सार्वजनिक गरिएको छ ।

प्रहरीले गोली काण्डमा पक्राउ परेका घटनाका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका ६ का ३१ वर्षीय राजकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना, सहयोगीको भूमिका खेलेका धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउका २८ वर्षीय रामप्रवेश राना र धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का १८ वर्षीय विरु चौधरीलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकामध्ये घटनास्थलमा बाइकमा आएका उग्रसेनले कार्कीमाथि गोली प्रहार गरेको र कल्लु रानाले पैसाको झोला लुटेको खुलेको छ । यस्तै घटनामा प्रयोग भएको चोरीको ४० प ४४३८ नम्बरको नक्कली नम्बर प्लेट राखिएको मोटरसाईकल पनि सार्वजनिक गरिएको छ ।

गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले विभिन्न घटना घटाएको समेत प्रहरीले जनाएको छ । घटनामा संलग्न भई आईएमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन ।

यस्तै अर्का उग्रसेन राना पनि डाँका चोरी मुद्दामा चार बर्ष आठ महिना जेल जीवन बिताईसकेका व्यक्ति हुन् । योजनाकार राजकमाुर चौधरी पनि हातहतियार खरखजाना मुद्दामा २०६५ सालमा ७५ दिन कारागारबाट छुटेका व्यक्ति हुन् ।

यो गिरोहले केहि बर्ष अघि कञ्चनपुरको डोकेबजारका एक व्यापारीसंग पनि साढे ३ लाख रकम लुटेको थियो भने रकम लुटपाटकै योजनाका क्रममा गौरीफन्टाका एक व्यापारीको हत्यामा पनि यिनिहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले कञ्चनपुरमा छोटी भन्सार कार्यालय लुटपाटमा पनि यहि गिरोहको हात रहेको दावी गरेको छ ।

प्रहरीले पक्राउ परेका विरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी अन्तर्गत मुद्धा दायर गरि अनुसन्धान अघि बढाएको सघीय प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक हरिराज वाग्लेले बताए ।

गोली प्रहारबाट घाईते निर्मल काकीका बुबा करविरले आफनो छोरालाई गोली हान्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनले प्रहरीले अपराधिलाई पक्राउ गरेकोमा खुशी व्यक्त गर्दै अब अपराधिलाई कारबाही गरिनुपर्ने बताए ।
धनगढी प्रदेशको अस्थायी राजधानी भएसगै सुरक्षा चुनौती बढेको भन्दै प्रहरीले अब प्रविधिको सहयोगमा सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ ।

धनगढीमा आर्थिक गतिविधिलगायत बढेपछि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले अब नया तरिकाले सुरक्षा व्यवस्था अपनाइने बताए । उनले घटनाको अध्ययन अनुसन्धान पनि नया ढंगले अगाढि बढाइने बताए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्