प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता


 


काठमाडौँ, जेठ २२

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताउनुभयो ।

“अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रकारका सहयोग लिएर नै रसुवागढीबाट काठमाडौँ र रक्सौलबाट काठमाडौँ रेल ल्याउन सकिन्छ, सरकारले यसकै लागि गृहकार्य गरिहरहेको छ, अनुदान पहिलो प्राथमिकता हुन्छ”–उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि कार्यकारी प्रमुखका रुपमा चीन भ्रमण गर्दा रेललगायत पूर्वाधार विकासका १० बुँदे सम्झौता गर्नुभएको थियो । यसपटक त्यसैलाई कार्यान्वयनमा लैजाने मुद्दालाई भ्रमणमा प्राथमिकता दिइने नेकपाका नेता समेत रहनुभएका डा भट्टराईले बताउनुभयो ।

चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्विपक्षीय व्यापारलगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चिनियाँ पक्षसँग वार्ता गर्ने सरकारको तयारी छ ।

भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन विश्वासको वातावरण बनाउने गृहकार्यसमेत भएको उहाँको भनाइ छ । नेपालमा स्थिर सरकार भएकाले लगानीको वातावरण छ भन्ने सन्देश प्रधानमन्त्री ओलीको भ्रमणमा दिनुपर्नेमा नेता भट्टराईले जोड दिनुभयो । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्