“एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु हुन्छ”


 


विराटनगर, जेठ २२

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत उत्पादनका आयोजना शुरु गर्ने बताउनुभएको छ ।

उहाँले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले जलविद्युत आयोजना सञ्चालनका लागि आगामी निति तथा कार्यक्रममा समावेश गर्ने जानकारी दिनुभयो । रासससँग आज कुरा गर्दै उहाँले प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै रहेको र यसबाट प्रदेशलाई आत्मनिर्भर बनाई अन्य प्रदेशको आवश्यकता पूर्ति गर्ने र खाद्यान्नमा वैदेशिक आयात न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्य उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले सरकारको दोस्रो प्राथमिकता भनेको पर्यटन हो भन्दै यसबाट स्थानीय जनतालाई रोजगारी उपलब्ध हुनाका साथै तत्कालै नगद उपलब्ध हुने भएकाले यसले प्रदेश र मुलुकको विकास तथा समृद्धिमा बल पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विराटनगर विमानस्थलका साथै क्षेत्रीय विमानस्थल विस्तार गर्ने कार्यमा प्रदेश सरकार दृढ रहेको बताउँदै यस क्षेत्रबाट छिमेकी मुलुक भारत, बंगलादेशका विभिन्न शहरमा उडान गरिने बताउनुभयो ।

मुख्यमन्त्री राईले छिमेकी मुलुकतर्फको हवाई उडान तथा हिमाली क्षेत्रको उडानबाट छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्किमका साथै भुटान र बंगलादेशबाट धार्मिक तथा हिमाली पदयात्राका लागि आउने पर्यटकको बसाइँ अवधि तथा खर्च गर्ने रकम वृद्धिका लागि आवश्यक पूर्वाधार तयार गरिनेमा जोड दिनुभयो ।

उहाँले यस क्षेत्रमा कोशी टप्पु, रामधुनी, हेलेसी, बराहक्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरी महादेव, भेडेटार, नमस्ते झरान, नाम्जे, पाथिभरा लगायतका अन्य धार्मिक तथा पर्यटीय क्षेत्रमा भारतीय पर्यटकलाई आकर्षण गर्न निजी क्षेत्रको सहयोगमा प्रचारप्रसार र सेवा सुविधा उपलब्ध गराउन सरकार लागेको बताउनुभयो ।

मुख्यमन्त्री राईले विदेशी धार्मिक पर्यटकको भ्रमणबाट विदेशी मुद्रा आर्जनका साथै मुलुकको व्यापार घाटा काम गर्ने कार्यमा प्रदेशको ठूलो सहयोग हुने विचार व्यक्त गर्नुभयो । उहाँले यस प्रदेश रहेका ३५ वटाभन्दा बढी र आठ हजार मिटरभन्दा बढी उचाइका पाँचवटा हिमालको प्रचारप्रसार छिमेकी मुलुकमा गर्न निजी क्षेत्रको सहयोग लिने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राइले नीति तथा कार्यक्रममा प्रदेशका ५६ निर्वाचन क्षेत्रमा प्राविधिक शिक्षालय खोल्नाका साथै यसबाट तीन हजार बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यका साथ सरकार हिँडेको जानकारी दिनुभयो । मुख्यमन्त्री राइले सरकारले प्रदेशको गौरवपूर्ण आयोजना पर्यटन, जलविद्युत र खानीपानी पूर्वाधार निर्माणका लागि निजीलगायत बाह्य लगानी बढाउने धारणा व्यक्त गर्नुभयो । उहाँले चिया, अलैँची, बेमौसमी तरकारी र फलफूल किसानका उत्पादन वृद्धिका लागि आवश्यक प्राविधिक, उन्नत बीउबिजन, मलखाद र सिँचाइको सुविधा उपलब्ध गराउने बताउनुभयो । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्