वातावरण संरक्षणमा सबैजना उत्तिकै जिम्मेवार : प्रधानमन्त्री


 


काठमाडौँ, जेठ २२

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभएको छ । आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ ।

सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्