उर्लाबारीमा फोहोर व्यवस्थापन चुनौती बन्दै


 


(सुमन घिमिरे)
उर्लाबारी (मोरङ) २० जेठ ।

फोहोर व्यवस्थापन जग्गा (ल्यान्डफिल साइट)को अभाव भएपछि यहाँस्थित उर्लाबारी नगरको फोहोर निजी जग्गामा व्यवस्थापन गरिँदै आएको छ ।

बढ्दो जनघनत्व र बजार विस्तारका कारण मोरङको दोश्रो ठुलो शहरको रुपमा परिचित उर्लाबारीमा फोहोरको उत्पादन बढेको छ तर त्यसको विसर्जन गर्ने ल्यान्डफिल साइटको अभाव भएको हो ।

उर्लाबारी नगपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मेची महाकाली ईन्भायरमेन्ट केयर प्रा.लि.ले बिगत डेढ बर्षदेखि ल्यान्डफिल साइटको अभावमा निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको हो । नगरपालिकाले वार्षिक रु १५ लाखमा फोहोर ब्यवस्थापनको जिम्मा प्रा.लि.लाई दिएको हो ।

सो प्रा.लि.ले २०७२ साल असार १ गते देखि उर्लाबारीमा पहिलो पटक फोहोर व्यवस्थापन गर्दै आएको हो । त्यसअघि फोहोर व्यवस्थापन स्वयम् नागरिकले आफ्नै किसिमबाट गर्दै आएका थिए । तीन बर्षअघि भएको सम्झौतामा ल्यान्डफिल साइट नगरपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
सो प्रा.लि.का व्यवस्थापक नेत्रप्रसाद घिमिरेले नगरपालिकाले व्यवस्थापन गरेको उर्लाबारी –३ स्थित मंगलबारेको डेढ बिगाहा जमिन बक्राहा खोलामा आएको बाढीले २०७३ साल असारमा कटान गरेपछि ल्यान्डफिल साइटको अभाव झेल्दै आएको बताउनुभयो । नगरपालिकाले रु ७ लाख २१ हजारमा बक्राहा खोला किनारमा किनेको एक विगाहा ७ कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विसर्जन गर्दा बाढीले बगाएको थियो ।

व्यवस्थापक घिमिरेले त्यसको केही महिनासम्म उर्लाबारी –६ स्थित निर्माणधिन बसपार्क छेउको मावा खोला किनारमा व्यवस्थापन गरिँदै आएपनि स्थानियबासीको बिरोधका कारण समस्या आएपछि आफ्नै निजी जग्गा उर्लाबारीको – १ स्थित झुम्रामा व्यवस्थापन गर्दै आएकोे बताउनुभयो ।

हाल नगरको बजार क्षेत्रको मात्र फोहोर व्यवस्थापनको जिम्मेवारी पाएकोले अन्य स्थानको फोहोर व्यवस्थापन गर्न केही समस्या भएकोले आगामी आर्थिक बर्षदेखि सम्पूर्ण नगरभरीको फोहोर व्यवस्पन गर्न माग गर्दै सफा र सुन्दर नगर पार्न नगरबासीमा जनचेतनामूलक कार्यक्रमका साथै प्रयाप्त बजेट, स्रोत साधनमा बृद्धि गर्न आवश्यक भएको व्यवस्थापक घिमिरेले बताउनुभयो । नगरमा हाल एक/एक वटा ट्रिपर र ट्याक्टरले दैनिक निस्किने १० टन फोहोर व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिका प्रमुख फागोले सुन्दर सफा र समुन्नत उर्लाबारी सवैको साझा एजेण्डा भएकोले फोहोर व्यवस्थापको लागि डेढ बिगाहा जग्गा खरिद प्रक्रिया अन्तिम चरण पुगेको बताउनुभयो । ल्यान्डफिल साइट निर्माणका लागि बिभिन्न दातृ निकायसँग आवश्यक सहयोग माग भईरहेको र यस बिषयलाई नगरको बजेटमा पनि प्राथमिकता दिने प्रमुख फागोले बताउनुभयो ।

 

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्