बजेट समृद्धिको प्रस्थान बिन्दु : अर्थमन्त्री खतिवडा


 


काठमाडौँ, जेठ २०

अर्थमन्त्री डा युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५÷०७६ को बजेट तयार पारिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख छ ।”

सर्वाङ्गीण विकासमा बजेटले ध्यान दिएको बताउँदै उहाँले नागरिकलाई उत्पादनसँग जोड्न बजेटले पहल गरेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले सामाजिक सुरक्षाका लागि सरकारले जिम्मा लिने बताउनुभयो ।

सरकारले बजेटमार्फत नागरिकको न्यूनतम आवश्यकता पूरा गरेर समृद्धिको बाटोमा अगाडि बढ्ने स्पष्ट पार्दै उहाँले बजेट प्रगतिशील बाटोमा अगाडि बढेको बताउनुभयो ।

संघीयता कार्यान्वयन ७६१ वटा सरकारको कुरा गरिरहेका बेलामा राजश्वको बाँडफाँट पनि सोहीअनुसार बजेट प्रस्तुत भएको भन्दै अर्थमन्त्रीले भन्नुभयो, “अनुदानसहितको पहिलो बजेट ल्याएका छौँ । पहिलेका एकल बजेटसँग तुलना गर्नु हुँदैन ।”

उहाँले सबै तहको बजेट जोड्दा रु १५ खर्बको बजेट हुने र विकास खर्च रु पाँच खर्बको भई अनिमात्र मुलुकभरको बजेट हुने बताउँदै विगतको आगामी आवको बजेट अंकमा हेर्दा त्यसले झुक्याउने भएकाले संघीयताको वित्तीय प्रणालीअनुसार बजेटलाई हेर्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्