उर्लाबारीको घुम्ती शौचालय प्रयोगहीन


 


उर्लाबारी (मोरङ), जेठ १९

उर्लाबारीमा सञ्चालनमा ल्याएको घुम्ती शौचालय यतिबेला कवाडी बन्दै गएको छ । ७ वर्ष अघि उर्लाबारीलाई खुला दिसामुक्त घोषणा गरिएसँगै निर्माण गरिएको घुम्ती शौचालय अहिले वेवारिसे र कवाडी अवस्थामा पुगेको हो ।

उर्लाबारी–७ को भद्रमारी जाने सडक छेउको ग्यारेजमा पाँच वर्ष अगाडि मर्मतका लागि भन्दै राखिएको शौचालय बेवारिशे बनेपछि नगरपालिकाको रकम बालुवामा पानी हाले सरह भएको हो । उर्लाबारी सरसफाई समितिले प्लान नेपालको रु ३ लाख ५० हजार र तत्कालीन उर्लाबारी गाविसको रु एक लाख ५० हजार गरी जम्मा रु पाँच लाखको अनुदान सहयोगमा घुम्ती शौचालय निर्माण गरेको थियो । त्यसताका पूर्वकै नमूना घुम्ती शौचालय उर्लाबारीमा भएको दावी गरिएको भएपनि अहिले न त नगरपालिकाले मर्मत सम्भार गरेको छ न त सरसफाई समितिले नै चासो दिएको छ ।

नगरको सम्पतिको रुपमा रहेको शौचालय कवाडीको रुपमा ग्यारेजमा थन्किरहेको देख्न सकिन्छ । जिल्ला विकास समिति मोरङका तत्कालीन स्थानीय विकास अधिकारी पशुपति पोखरेलले उद्घाटन गरेको भट्ट हेर्दा आकर्षक देखिने ठूलो ट्रली भएको सो शौचालयलाई स्थानीय सरसफाई समितिले सञ्चालन गर्दै आएको थियो ।

पूर्वमा हुने मेला, महोत्सव, विवाह, पुराण, सभा समारोहलगायत विभिन्न कार्यक्रमहरुमा समेत घुम्ती शौचालयलाई प्रयोग गरिदै आएको थियो । शौचालय सञ्चालनबाट दैनिक एक हजार आम्दानी र दुई जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका थिए । तत्कालीन उर्लाबारी गाविस सचिव मुरारीप्रसाद घिमिरेलाई घुम्ती शौचालय हस्तान्तरण गरेको तर त्यसपछि वेवारिसे र कवाडीमा परिणत हुनुमा आफ्नो कुनै भूमिका नरहेको सरसफाई समितिका तत्कालीन अध्यक्ष महेन्द्रजंग तामाङ बताउनुहुन्छ ।

उर्लाबारीको पहिचान दिने गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो, त्यसपछि नगरपालिकाले मर्मत र सञ्चालनका लागि ध्यान पुर्याउन सकेन, उहाँले बताउनुभयो । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) नगरपालिका कार्यालयले घुम्ती शौँचालयलाई व्यवस्थित बनाउँदै पुन ः सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ ।

उर्लाबारीमा प्रत्येक शुक्रवार हाटबजार लाग्ने भएकाले व्यापारीहरुलाई शौँच गर्न समस्या हुनेगरेको बताउँदै भट्टराईले यसप्रति नगरपालिकाको ध्यान जान आवश्यक रहेको बताउनुभयो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले हाल उर्लाबारी मुख्य चौकमा रहेको सार्वजनिक शौँचालयलाई व्यवस्थित बनाउने काम भईरहेको बताउँनुहुँदै घुम्ती शौँचालयलाई पनि व्यवस्थित बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्