हवाई भाडा बढ्यो


 


ताप्लेजुङ, जेठ १९
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडाँै–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ ।

यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५ बढाएर रु सात हजार १९५ पु¥याइएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो ।

एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्रि आएको राईले बताउनुभयो ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक साता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ ।

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ । रासस

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्