पहिरोले महाकाली राजमार्ग अवरुद्ध, बस्ती नै जोखिममा


 


बैतडी, जेठ १८

गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै हावाहुरीसँगै आएको वर्षाले बैतडीको पाटन नगरपालिका–५ ओदाली र कद्वारमा आठ घर जोखिममा परेका छन् । वर्षाले जमिन भासिएपछि घर जोखिममा परेको स्थानीयवासी लोकेन्द्र चन्दले बताउनुभयो । वर्षाले ६० रोपनी बढी जग्गासमेत बगरमा परिणत गरेको छ भने गाउँले मिलेर पशु चौपाया बचाउन सफल भएको उहाँले बताउनुभयो ।

घर र जमिन भासिए पनि मानवीय क्षति भने भएको छैन । तर किसानले खेतमा लगाएको मकै, भटमास तथा तरकारी फलफूल नष्ट भएको स्थानीयवासी हिरा पाण्डेयले बताउनुभयो ।

कालोपत्रे हँुदै गरेको पाटन पञ्चेश्वर सडकमा व्यवस्थित तरिकाले काम नहुँदा सडकको तलपट्टिका घर तथा जमिनमा बेलाबेलामा क्षति पुग्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । पाटन–५ कै तल्लीस्याडीका विभिन्न ठाउँमा पनि पहिरो गएको स्थानीयवासी प्रकाश ठगुन्नाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्