जिल्ला प्रहरी प्रमुख सहित पाँच जनाको मृत्यु


 


काबुल, जेठ १६
अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो ।

लोगार प्रान्तको प्रान्तीय राजधानी पुल इ अलाम शहरमा रहेको एक प्रहरी चौकीको प्रवेश द्वारमा एक आतङ्ककारीले कारबम विस्फोट गराएको र अन्य तीन आतङ्ककारी प्रहरी चौकीमा प्रवेश गरेका थिए ।

करिब १० मिनेटसम्म आतङ्ककारी सुरक्षा अधिकारीबीच जारी रहेको दोहोरो गोली हानाहानमा परी एक जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका प्रवक्ता नाजिब दानिसले टेलिभिजन च्यानल टोलोलाई जानकारी दिनुभएको छ ।

यस हमलामा परी चार सर्वसाधारण र चार प्रहरी अधिकारी घाइते भएका छन् । सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य सात हजार घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले हालै जारी प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्