समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता : प्रधानमन्त्री


 


काठमाडौँ, जेठ १६

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।”

उहाँले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्