बजेटमा प्रदेश एकका चार ठूला आयोजना समावेश


 


विराटनगर, जेठ १६

आर्थिक वर्ष २०७५/७६ लागि सरकारले ल्याएको बजेटमा प्रदेश नम्बर एकका चार ठूला आयोजना समेटिएको छ । प्रदेश नम्बर १ मा विराटनगर विमानस्थल, जोगबनी–किमाथांका सडक, मदन भण्डारी राजमार्ग र तमोर–कन्काई जलविद्युत आयोजना समेटिएको छ । प्रदेश–१ कै लागि भनेर यी चार आयोजना समेटिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख छ । क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत सुरु गर्ने बजेटमा समेटिएको छ ।

जोगबनीदेखि किमाथांका सडक निर्माणलाई पनि बजेटले समेटेको छ । यो सडकले चीन र भारतलाई जोड्नेछ । हाल यो निर्माणाधीन छ । तर, बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन । झापादेखि कञ्चनपुरसम्म मदन भण्डारी भित्री राजमार्ग निर्माणका लागि ४ अर्ब ५० करोड छुट्याइएको छ । प्रस्थानबिन्दु झापाको शान्तिनगर हो ।

झापाबाट सुरु भई डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुनेछ । जसमा अहिले धरान चतरादेखि हेटौंडासम्मको काम अघि बढिसकेको छ । ३ सय किलोमिटरको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्