पात्र र व्यवस्था फेरियो, नागरिकका अपेक्षा उस्तै


 


काठमाडौं, जेठ १५
नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्र आएको आज १० वर्ष पूरा भएर ११ वर्षमा प्रवेश गरेको छ । आजकै दिन संविधानसभाले दुई सय ४० वर्ष लामो राजतन्त्र खारेज गरेको थियो ।

वंशजका आधारमा मुलुकमा शासन गर्ने परम्परा अन्त्य भई शासनको स्वरुप नै फेरियो । नागरिकले नै देशम शासन गर्ने व्यवस्थाको विकास भयो । तर, देशमा जुन उद्देश्यका साथ गणतन्त्र स्थापना गरिएको थियो त्यसअनुसार सफलता प्राप्त गर्न सकिएको छ ।

पात्र फेरिएपनि पूरानै शासकको प्रबृत्ति फेरिएको छैन । जति दुरी पहिले राजा र नागरिकबीच थियो अहिले पनि त्यस्तै छ ।

जनताबाटै चुनिएर गएकाहरुको उचाई अझै माथि पुगेको छ । जसलाई जनताले सहजै भेट्ने अवसर पाप्त गर्न सकेका छैनन् । जसले गर्दा आमनागरिकको आशा र अपेक्षा निराशामा परिणत हुन थालेका छन्।

उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको भएको प्रष्ट छ । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागू हुन सकेको छैन ।

दलहरुले भाषण र निर्वाचनमा जनमुखी कुरा गरे पनि गणतन्त्र आएपछिको १० वर्षमा जनमुखी कार्यक्रम ल्याउन सकेका छैनन्, जसले देशमा गणतन्त्र आएको अनुभूति गरुन् ।

गणतन्त्र स्थापनापछि खर्च कटौती हुने र मुलुकमा विकास र समृद्धिको ढोका खुल्ने आमजनताको अपेक्षा निराशामा परिणत भएको छ । देशमा खर्चभार अझ बढेको छ । भएन भन्दै देश संघीयतामा गएपछि धेरैले जागिर पाएका छन् ।

संघीयता फलदायी बनाउन सकिने भएपनि बढीजाई जागिर खाने अवसर मिलेको छ भने खर्च ह्वात्तै बढेको छ । देशमा संघीयता विफल पो हुनेहो कि भन्ने आँकलन गरिन थालिएको छ । विगतभन्दा भ्रष्टाचार र तस्करीको जालो अझ मौलाएको छ ।

गणतन्त्र स्थापना भएको एक दशक भनेको लामो समय हो । चाहेमा यस अवधिमा देशलाई विकासको चरमचुलीमा पुर्याउन सकिन्थ्यो । विकासले तिब्रता पाउन सक्थ्यो तर, विकासको गति मन्द छ ।

नाम मात्रको गणतन्त्र र भूमिगत पूववर्ति शासन शैलीले देशमा गणतन्त्रको अनुभूति गर्न सकिने स्थिति छैन । देशमा संविधान बन्यो र सोहीअनुसार स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन पनि सम्पन्न भए । यो एक संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो हो । तर, संविधानलाई अझै पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

देश शान्ति प्रक्रिमा गएपनि केही अवशेषहरु अझै बाँकी नै छन् । तत्कालिन माओबादीको अंश नै अहिलेको शासन व्यवस्थाको कट्टर विरोधी छ । यसको पनि समाधान खोज्न आवश्यक छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्