बालकृष्ण ढुंगेललाई रिहा गरिदै, राष्ट्रपतिले पनि दिइन् स्वीकृति


 


काठमाडौँ, जेठ १५
जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतद्वारा दोषी ठहर भएर जेल सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ मंगलबार रिहा गरिदैछ । ढुंगेललाई गणतन्त्र दिवसका अवसर पारेर रिहा गरिन लागिएको हो ।

ढुंगेलको रिहाईका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत स्वीकृति दिइसकेकी छन् । उनलाई आममाफी दिने गरी सरकारले रिहाईका सरकारले राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतले द्वन्द्वकालिन घटनासम्बन्धी एक मुद्दामा जेलमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजाय माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी हुन् ।

सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । त्यसबेला श्रेष्ठको हत्याको घटनामा उनी साढे सात वर्ष जेल बसेका थिए।

त्यसपछि तत्कालिन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचितसमेत भएका थिए । २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने ।

सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्।

 

प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्