धनगढी गोली काण्डः पक्राउ परेका दुई जना राति नै रिहा


 


धनगढी, १४
धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे साढे ९ लाख रकम लुटिएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले रिहा गरेको छ ।

उनीहरुलाई बोलाएको बखत उपस्थीत हुने गरी रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उनकानुसार उनीहरुलाई हिजो राति नै छोडिएको हो ।

आइएमईमा कार्यरत निर्मल कार्कीलाई गोली प्रहार गरी रकम लुटेको आरोपमा प्रहरीले घटना घटेको एक घण्टा भित्रै अत्तरियाबाट दुई जनालाई नौं लाख रकमसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरुबाट बरामद रकम भने जिल्ला प्रहरीकै नियन्त्रणमा रहेको छ । तर, प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

घटना मिटरव्याजसंग सम्बन्धित रहेको आशंका गरेर त्यो कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते कार्कीकी श्रीमती शोभा कार्की मिटर ब्याजमा संलग्न रहेको बताइएको छ ।

हिजो धनगढीको मुख्यबजार पुरानो भन्सार चोकमा अज्ञात समुहले कार्कीमाथि गोली प्रहार गरेर साढे नौं लाख रुपैयाँ लुटपाट गरेको थियो । बैंकबाट रकम झिकेर आईएमईमा लिदै गरेको अवस्थामा कार्कीमाथि गोली प्रहार भएको हो ।

पाखुरामा गोली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको पाखुरामा लागेको गोली निकालिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्