संविधान जारी हुने दिन यस्तो छ नयाँ सुरक्षा योजना


 


काठमाडौं, भदाै ३१

नयाँ संविधान घोषणा गर्ने दिन लक्षित गरेर हिंसात्मक गतिविधि हुन सक्ने आकंलन गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पार्ने बताएको छ।संविधान जारी गर्ने दिनमा हुन सक्ने विरोध प्रदर्शन र बन्द हडताललाई लक्षित गरी विशेष सुरक्षा कार्ययोजना ल्याइएको गृहमन्त्रालयका प्रवक्ताले बताएका छन्।

संविधान निर्माण प्रक्रियाबाट अलग भएका तराइ केन्द्रित दलका प्रदर्शनहरुले ठाउँ ठाउँमा हिंसात्मक रुप लिइरहेकाले तराइका जिल्लाको सुरक्षामा थप ध्यान दिइएको उनले उल्लेख गरे। संविधानको मस्यौदा तयार भएदेखि नै अशान्त रहेका कतिपय तराइका जिल्लामा संविधान जारी गर्ने अन्तिम अवधिमा सुरक्षा व्यवस्था थप कडा बनाइन लागेको अधिकारीहरुले बताएका हुन्।

संविधानसभाले आइतबार साँझ संविधान जारी गर्ने निर्णय गरे लगत्तै कतिपय असन्तुष्ट दलले बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेका छन्। यस्तोमा सम्भावित विरोध र त्यसबाट हुनसक्ने सुरक्षा खतरालाई ध्यान दिदैँ सरकारले निश्चित सुरक्षा योजना तयार गरिसकेको अधिकारीहरुले बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले भने – “संविधानको विपक्षीमा रहेका राजनीतिक दलहरु अथवा भूमीगत संगठनहरु अथवा त्यस्ता किसिमका अन्य समूहहरु छन् । उनीहरुबाट सुरक्षामा हुन सक्ने खतरामा मूल्यांकन गरिसकिएको छ। त्यसको लागि सरकार तयार छ। निश्चित कार्ययोजना बनिसकेको छ।”

झन्डै महिना दिन यता तराईमा भएका आन्दोलनमा सुरक्षाकर्मी सहित ४० जना भन्दा बढीको ज्यान गएको छ। संविधान जारी हुने दिनलाई लक्षित गरी पर्याप्त सुरक्षा व्यवस्था गर्न स्थानिय प्रशासनलाई निर्देशन दिइएको गृहमन्त्रालयका प्रवक्ता ढकालले जनाए।

उनले भने – “कार्ययोजना अनुसार प्रहरी सुरक्षाकर्मीहरुको परिचालन हुन्छ। महत्वपुर्ण प्रतिस्ठानहरु, ब्यक्तिहरु लगायत राजमार्गको सुरक्षा लगायत सवैको लागी यथेस्ट ब्यवस्था गरिनेछ।”सरकारले बढी हिंसा भएका तराइका जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सुरक्षा कायम गर्न नेपाली सेनालाई खटाउँदै आएको छ।

सम्भावित हिंसाका घटनालाई ध्यान दिदैँ स्थानीय प्रशासनलाई निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषणा गर्ने अधिकार दिएको बताउँदै आएको सरकारले विमानस्थल लगायत मुख्य सरकारी संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन लागेको जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्