अब सबै कामदारले भत्ता पाउने, श्रम मन्त्रीले गरे यस्तो घोषणा


 


काठमाडौँ, जेठ १२

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल रासस शाखाद्वारा संयुक्त रूपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले एक वर्षभित्र नै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सय दिनमा सरकारले जनताले अनुभूति गर्ने तरीकाले काम गरेको छ, सरकारले अहिले १०० मिटरको दौडको हिसाबले काम गरेको छ, यही तरीकाले सरकारले म्याराथुन दौडसम्म दौडेर काम गर्न चाहेको छ ।”

उहाँले सरकारको नीति कार्यक्रम परम्परागत रूपमा नभई देश र जनताको समृद्धिका लागि आएको स्पष्ट गर्दै सरकारले दिएका सेवाको परिणाम आएपछि देशले आर्थिक उचाइ लिई विकास र रोजगारीमा वृद्धि हुने र  नेपाली नागरिकले गौरव गर्ने दिन आउने बताउनुभयो ।

मन्त्री विष्टले थप्नुभयो, “खान, लाउन नपाउने गरीब नेपाली होइन, समृद्ध देशका जनताका रूपमा गौरव गर्ने देश बनाउँछौँ ।  मन्त्री विष्टले समाचार बैंकका रूपमा राससले काम गरिरहेकामा सन्तोष व्यक्त गर्दै श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा र उचित पारिश्रमिकको व्यवस्थाका लागि मन्त्रालयले उचित भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले समाचार बैंक राससले निकै महत्वपूर्ण योगदान दिएको र आगामी दिनमा पनि क्रियाशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले राससलाई आत्मनिर्भर बनाउन र समाचार बैंकको रुप दिन सरकारले पनि काम गरिरहेको बताउँदै राससले आगामी दिनमा पनि आधिकारिक र विश्वसनीय समाचार दिइरहनुपर्ने औँल्याउनुभयो ।

उहाँले सरकारी सञ्चारमाध्यमले राष्ट्र र राष्ट्रका नागरिकको समृद्धिका पक्षमा समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले रासस आधिकारिक र  विश्सनीय समाचार समिति तथा समाचार बैंकका रूपमा रहिरहने उल्लेख गर्नुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्मा र नायब महाप्रबन्धक सुरेन्द्र नेपालीले रासस समाचारको मुहान भएको हुँदा विकट क्षेत्रका नसमेटिएका समाचारलाई समेत आगामी दिनमा थप प्राथमिकता दिने उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्