आचार्यको भनाई : गोरेले म सँग माछा मार्न भनेर ब्याट्री र तार लगेको हो


 


मोरङ,  जेठ ११

सुन तस्करीमा मुछिएका मोरङको उर्लाबारी निवासी चूडामणि उप्रेती ‘गोरे’ ले माछा मार्न भन्दै लगेको ब्याट्रीबाट करेन्ट लगाएर आफ्ना साथी सनम शाक्यको हत्या गरेको खुलेको छ ।

हिजो साँझ पक्राउ परेका उर्लाबारी नगरपालिका–२ निवासी रेवत भनिने सुन व्यापारी रेवत आचार्यले आज यस्तो खुलासा गरेका हुन् । साढे ३३ किलो सुनकाण्ड र सनम हत्याकाण्डमा मुछिएका चुडामणि उप्रेती गोरेसँग कनेक्सन पाइएपछि प्रहरीले ३८ वर्षीय आचार्यलाई उर्लाबारीबाटै पक्राउ गरेको थियो । गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा पक्राउ परेका उनले म्याद मिलानका लागि जिल्ला अदालत मोरङमा पुर्याएका बेला सञ्चारकर्मीहरुसँग यस्तो खुलासा गरेका हुन् ।

‘बक्राहा खोलामा माछा मार्न भन्दै गोरेले मेरैबाट ब्याट्री र तार लगेका थिए’, उनले भने, ‘तर, त्यही ब्याट्रीबाट करेन्ट लगाएर सनमको ज्यान लिएको मैले पनि प्रहरीबाट थाहा पाएँ ।’ कानुनतः करेन्ट लगाएर माछा मार्नु पनि अवैधानिक मानिन्छ । उर्लाबारीकै कान्छी चोक नजिकै रहेको जंगलमा पिकनिक खान भन्दै लगिएका सनमलाई गोरे र उनका अन्यस सहयोगीले यातना दिने क्रममा करेन्ट लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ ७ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेका थिए ।

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्