नीति तथा कार्यक्रमः प्रमको जवाफ आइतबार


 


काठमाडौँ, जेठ ११

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिनुहुने भएको छ ।

संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र आज ११ गते लगातार छलफल भयो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठक यही जेठ १३ गते जवाफ दिने कार्यक्रम छ ।

आजको बैठकमा सांसदले नीति कार्यक्रम आफैँमा राम्रो वा नराम्रो नहुने भएकाले यसको सफल कार्यान्वयनका लागि जोड दिनुभयो । नेकपाका योगेश भट्टराईले सपना देख्नेले मात्र राष्ट्र बनाउन सक्ने भएकाले नीति कार्यक्रम सही भएको बताउनुभयो । सोही पार्टीका घनश्याम भुसालले देश निर्माण गर्ने जिम्मा माक्र्सवादीको हातमा आएको बताउँदै पार्टीका सदस्यलाई उत्पादन कार्यमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका प्रकाशमान सिंहले वर्तमान सरकारले जनअपेक्षानुसार काम गर्न नसकेको बताउँदै नीति तथा कार्यक्रम पट्यारलाग्दो ‘प्रेमपत्र’ भएको बताउनुभयो । सोही पार्टीका बालकृष्ण खाँणले नीति तथा कार्यक्रममा स्थानीय तहको विकासलाई कतै पनि नसमेटिएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले नीति तथा कार्यक्रम यथार्थभन्दा भावना र कल्पनाको कागजी महल रहेको विचार राख्नुभयो । रासस

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्