अधिकार नदिएसम्म संघीयता संकटमा : अध्यक्ष यादव


 


राजविराज, जेठ ११
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाउनुभयो ।

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गर्नुभयो । रासस

 

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्