चट्याङ लागेर १३ जना घाइते, दुईको अवस्था गम्भीर


 


डडेल्धुरा, जेठ ११

डडेल्धुराको भित्री प्रदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६, छेलाका २ वटा घरमा बिहीबार साँझ परेका चट्टयाङ लागेर १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुर्इ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पानी र हावाहुरीसँगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवी धामी, २५ वर्षीय मायादेवी धामी १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये बेलादेवी धामी र मायादेवि धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । गम्भीर घाइतेको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै परशुराम नगरपालिका ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताउनभयो ।

 

प्रकाशित मिति: ११ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्