ढुंगेललाई कैदमुक्त गर्ने प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट


 


काठमाडौँ, जेठ १०

तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी गरी जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आज अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो । कैद माफीको प्रक्रिया गैरकानुनी भएको रिटमा दाबी गरिएको छ । सरकारले ढुंगेल सहित करिब ८ सय ५० कैदीलाई कैदी माफी दिइ गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ । त्यसका लागि कारागार व्यवस्थापन विभागले सूची गृह मन्त्रालयमा पठाइसकेको छ ।

डिल्लिबजार कारागारमा रहेका ढुंगेल गत कात्तिक १४ गते पक्राउ परेका हुन् । उनलाई जन्मकैद अर्थात् २० वर्ष कैद सजाय भएको छ । कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको खण्डमा बाँकी कैद माफी दिन सक्ने प्रावधान छ ।
ढुङ्गेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेकाले ४० प्रतिशत कैद भुक्तान गरिसकेका छ्न ।

यसैबीच, सरकारले नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिएर छाड्न लागेकोमा अनौपचारिक सेवा केन्द्र इन्सेकले भर्त्सना गरेको छ । उनको कैद माफी प्रक्रिया रोक्न इन्सेकले माग गरेको हो ।

 

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्