गृहमन्त्री थापाले भने- ‘गोरे’पछि अब ठूला माछाको पालो


 


धनगढी, जेठ ९
गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई पक्राउ गरिसकेपछि अब ठूलो माछा पनि समातिने बताएका छन्।

सुरक्षा समितिको गोष्ठीका लागि लागि आज धनगढी पुगेका गृहमन्त्री थापाले गोरेको माध्यमबाट सुन तस्करीसंग जोडिएका ठूला माछा पनि पक्राउ पर्ने दाबी गरे ।

उनले ठूला माछा पक्राउ गर्न सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘हिजो मात्रै सुन तस्करका नाइके गारेलाई सार्वजनिक गरिएको छ,’ उनले भने, ‘अब गोरेकै माध्यमबाट ठूला माछा पक्राउ पर्छन्, त्यसका लागि प्रक्रियामा छौं ।’

उनले जबसम्म देशबाट अपराध, भ्रष्टाचार, तस्करीलाई निस्तेज गर्न सकिदैन, तबसम्म देशमा विकास सम्भव नभएको बताए । भ्रष्टाचार, अपराध अन्त्य गरेर विकासको बाटोमा अघि बढेका देशहरुको उदाहरण दिदै गृहमन्त्री थापाले नेपालबाट पनि यी भ्रष्टाचार र अपराधिक गतिविधिलाई जरैबाट उखेलिने बताए ।

देशमा सुशासन कायम गर्न अनुगमन गर्ने समितिमाथि पनि अनुगमन गरिने उनले बताए । ‘अनुगमन माथि अनुगमन’ भन्ने शब्दावली अहिले सरकारको नीति तथा कार्याक्रममा पनि समेटिएको बताउँदै उनले त्यसलाई पालना गरेर अघि बढ्ने बताए । ‘हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता, सिन्डिकेट छन्’ उनले भने, ‘यसको अन्त्यका लागि अभिमयान सुरु भइसकेको छ ।’

गृहमन्त्री थापाले प्रदेश नम्बर सातमा विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई पनि कारबारही गरिने बताए ।

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्