नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता


 


खोटाङ, जेठ ९

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ ।

माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो ।

यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका टंक राई यसअघि स्थायी समिति सदस्य हुनुहुन्थ्यो भने अन्य तीनजना पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।

टंक राई पूर्व सांसद हुनुहुन्छ भने समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभासद् हुनुहुन्छ । पूर्व सभासद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।

एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस

प्रकाशित मिति: ९ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्