विराटनगरस्थित भारतको स्थल कार्यालय बन्द
काठमाडौँ, जेठ ८
भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ ।
नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आउनुभएको थियो । नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको सो मन्त्रालयले जनाएको छ ।
तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गर्नुभएको थियो ।
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलबार