रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई सरकारको प्राथमिकता


 


काठमाडौं, जेठ ७
सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।  संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माण कार्यलाई यसै वर्षदेखि सुरुवात गरिने बताउनुभयो ।

यस्तै कोशी, सेती नदीमा जलमार्गको अवस्थाको बारेमा अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै हवाई उड्यन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन उच्चतम प्रविधिको प्रयोग गर्ने र त्रिभुवन विमानस्थलको आधुनिकीकरण र व्यवस्थित गरिने उल्लेख छ । अबको एक वर्षभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख छ ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइँदै पाँच वर्षभित्र सक्ने गरी काम अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्