पूर्वाञ्चलमा सुरक्षा व्यवस्था कडा
विराटनगर, भदाै ३०
संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत विभिन्न स्थानमा शक्ति प्रदर्शनमा उत्रने क्रमलाई तिव्रता दिइरहेकाबेला पूर्वमा सुरक्षा सतर्कता पनि बढाइएको हो ।
मोरङमा मात्रै नभई पूर्वाञ्चलका सबै क्षेत्रमा संभावित घटनालाई मध्येनजर गर्दै सुरक्षा रणनीति तयार गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक माधवप्रसाद जोशीले बताए । ‘जहाँ जस्तो चुनौती छ, त्यस्तै सुरक्षा रणनीति तय गरिएको छ’, जोशीले भने ।
सुनसरी सदरमुकाम इनरुवामा गरिएको शक्ति प्रदर्शन, झापाका विभिन्न चर्चलाई लक्षित गरी भएका विष्फोट लगायतका घटनाले सुरक्षा चुनौती बढेको छ । प्रहरीले संभावित घटनाहरुलाई मध्येनजर गर्दै राजमार्ग क्षेत्रमा सवारी चेकजाँचलाई कडाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले जिल्लामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहे पनि सम्भावित घटनालाई दृष्टिगत गर्दै थप कडाई गरिएको बताए ।उनले भने, ‘मोर्चाका कार्यकर्ताको लाठी जुलुस, झापाका चर्च लक्षित विष्फोटका घटना र संविधान जारी हुने मिति लगायतलाई सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।’
यता विराटनगरमा भने बुधबार मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शनको तयारी गरेको छ ।
प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार