राष्ट्रपति भण्डारीलाई भोजपुरेको अभिनन्दन


 


काठमाडौं, जेठ ६
शनिबार भोजपुरे सेवा समाज, काठमाडौँद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा राष्ट्रपति भवन, शीतलनिवास, महाराजगन्जमा बधाई, शुभकामना तथा अभिनन्दन कार्यक्रमको आयोजना गरियो ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा र कार्यक्रममा उपस्थितमध्येका ९० वर्षीय जेष्ठ नागरिक मदनबहादुर खत्रीले राष्ट्रपतिलाई पुष्पगुच्छा र अभिनन्दनपत्र समर्पण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफ्नो माइती जिल्लाका तर्फबाट प्रकट गरिएको बधाई, अभिनन्दन तथा शुभकामना आफ्ना लागि मार्गदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रेम, सद्भाव र शुभेच्छाले राष्ट्र र जनताप्रतिको जिम्मेवारी र कर्तव्य निर्वाह गर्न मलाई शक्ति प्राप्त हुने मैले ठानेकी छु ।”

सम्बोधनका क्रममा नोष्टाल्जिक हुँदै उहाँले आफू जन्मे हुर्केको गाउँ, हिँडेका बाटाहरू र साथीभाइको झलझली याद आउने गरेको उल्लेख गर्नुहुँदै समय र परिस्थितिले राष्ट्रप्रमुखको पदमा पु¥याए पनि आफ्नो मन भने सधैँ जनसमुदाय र गाउँबस्तीमै पुगिरहने गरेको सुनाउनुभयो ।

राष्ट्रपतिले भोजपुरको समृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने विश्वास पनि दिलाउनुभयो ।

सेवा समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाले भोजपुरकी चेली राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिमा पहिलो कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकालका लागि चुनिनु अत्यन्त हर्ष र गौरवको विषय भएको विचार व्यक्त गर्दै भन्नुभयो, “सम्माननीय राष्ट्रपतिज्यूको दोस्रो गौरवमय कार्यकाल अनुकरणीय होस् भनी कामना गर्दछु ।”

सेवा समाजका सचिव शशी लुमुम्बूले सन्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रपतिज्यूका सहपाठीमध्येका तर्फबाट टङ्कप्रसाद श्रेष्ठले कार्यकाल सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय शङ्करप्रसाद कोइराला, कृपासुर शेर्पा, सांसद सुदन राई, पूर्व सांसदहरू जयन्ती राई, तारादेवी राईलगायत भोजपुरसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्