नेपाल कम्युनिष्ट पार्टी नेता व्यवस्थापन तथा संगठन एकीकरणमा


 


काठमाण्डौ,जेठ ६
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेता व्यवस्थापन तथा संगठन एकीकरणमा जुटेको छ ।

पार्टीको सचिवालयले पूर्णता पाईसकेको छ भने स्थायी कमिटी र केन्द्रीय कमिटी तत्कालै पूर्णता पाउने प्रक्रियामा छन् । तर बाँकी तल्लो तहसम्मकै कमिटीहरु अबको तीन महिनाभित्र एकिकरण गरिसक्ने तयारी छ । तत्कालिन एमालेबाट २ सय ४१ जना र माओवादी केन्द्रबाट २०० केन्द्रीय सदस्य मिलाएर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी ४सय ४१ सदस्यीय बनाइएको छ । यस्तै, नौ सदस्यीय पार्टीको केन्द्रीय सचिवालय तथा हाइकमाण्ड बनाइएको छ ।

तत्कालिन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना गरी ४५ सदस्यीय स्थायी कमिटी बनाइएको छ । पार्टीको पोलिट्ब्युरो गठन गर्न बाँकी छ । नेपाल कम्युनिष्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटी मातहतका सबै तल्लो कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरु एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड निर्माणको गृहकार्य शुरु भएको छ ।

पार्टीको स्थायी समिति, पोलिट्ब्युरो र केन्द्रीय कमिटीसहित प्रारम्भिक कमिटी गरी १० तहगत सांगठनिक संरचना बन्नेछन् । महासचिवको जिम्मेवारी पाएका विष्णु पौडेललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको निर्देशन र परामर्शमा सांगठनिक एकता गर्ने जिम्मेवारी दिइएको छ । तीन महिनाभित्रै तल्लो तहसम्मका १० वटै संरचनाको एकता गरिसक्ने तयारी भए पनि पूर्व दुई पार्टीमा आकांक्षी धेरै भएकाले सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पार्टी एकताका लागि गठन गरिएको सांगठनिक कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा नै सबै कमिटीलाई एकीकरण गरिने बताउनुभयो ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्