ऊर्जा क्षेत्रमा चिनियाँ सहकार्यको तयारीबारे छलफल


 


काठमाडौँ, जेठ ६
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र चीनबीच ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विभिन्न क्षेत्रमा आवश्यक तयारी गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई आग्रह गर्नुभएको छ ।

सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको, त्यसका लागि प्रमुख आधार नै ऊर्जा भएकाले चीन सरकारका निकाय तथा अधिकारीसँग आवश्यक समन्वय गर्न मन्त्री पुनले आग्रह गर्नुभएको हो ।

ऊर्जा मन्त्रालयमा आज राजदूत पौड्यालसँग छलफल गर्दै मन्त्री पुनले ऊर्जाका विभिन्न क्षेत्रमा सहकार्यका लागि प्रयास भइरहेको र लगानी भित्र्याउनसमेत प्रयास भइरहेको बताउनु भएको थियो । उहाँले नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत् प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन गरिसकेको उल्लेख गर्नुभएको थियो ।

मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गर्नुभएको थियो । राजदूत पौड्यालले चीनले पछिल्लो एक दशकमा एक लाख मेगावाट विद्युत् उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने बताउनुभयो ।

चीन नेपालमा तीन/तीन वटा ठूला जलविद्युत् तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि राजदूत पौडेलले अवगत गराउनुभएको थियो । जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले मन्त्री पुनलाई आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्