नेकपाको केन्द्रीय कमिटीमा पर्न दौडधुप


 


काठमाडौं, जेठ ६
नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति र केन्द्रीय कमिटीमा पर्नका लागि नेताहरूले दौडधुप सुरु गरेका छन् । तत्कालीन एमालेका झण्डै एक सय नेताहरू केन्द्रीय कमिटी र स्थायी समितिमा पर्न दौडधुपमा लागेका हुन् । एमालेबाट नयाँ केन्द्रीय सदस्य थपिनेछन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाउनेछन् । एमालेमा समायोजन भएका चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालसहितका साना दलहरूलाई पनि केन्द्रीय कमिटीमा लैजानुपर्ने बाध्यता छ ।

स्रोतका अनुसार केन्द्रीय सदस्यका लागि आनन्दप्रसाद पोखरेल, गोकुल बाँस्कोटा, खगराज अधिकारी, विष्णु रिजाल, शिव गुरुङ, महेश बस्नेत, नीरज आचार्य, विनोद ढकाल, कृष्ण थापा, भूमिश्वर ढकाल, उर्वादत्त पन्त, दामोदर भण्डारी, जगन्नाथ थपलिया, देवी ज्ञवाली, राजेन्द्र गौतम, नेत्र पन्थी, रामेश्वर फुयाँल, दिलु पन्त, नारदमुनि राना थारु, राजीव पहारीलगायतका नेताहरूले लविङ् सुरु गरेका छन् । उनीहरूले आफू निकटका नेताहरूलाई भेटेर केन्द्रीय कमिटीमा पर्न दवाव दिएका हुन् ।

तत्कालीन माओवादीले देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्तिबहादुर बस्नेत, अमिक शेरचन, लेखराज भट्ट, जयपुरी घर्ती, देवेन्द्र पौडेल, राम कार्की, मणि थापा, उर्मिला अर्याललाई स्थायी समितिमा राख्ने तयारी गरेको छ ।

कुलप्रसाद केसी, हितमान शाक्य, चक्रपाणि खनाल, तिलक परियार, हितराज पाण्डे, दीनानाथ शर्माले पनि स्थायी समितिमा पर्न जोडजुलुम गरेको स्रोतको भनाइ छ ।

‘नेकपा’को स्थायी समितिमा सदस्यहरू चयनका लागि तत्कालीन एमाले र माओवादीले भागबण्डा गरिसकेका छन् । ४५ सदस्सीय स्थायी समितिमा एमालेबाट २६ र माओवादीबाट १९ जना मनोनीत गरिनेछ ।

माओवादीले ८५ जना केन्द्रीय सदस्यको मात्रै नाम अध्यक्ष ओलीलाई बुझाएको छ  । माओवादीबाट अझै १ सय १५ जना सिफासिर हुनेछन् ।
तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर ‘नेकपा’को ४४१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्