पार्टी एकता असाधारण घटना : अध्यक्ष दाहाल


 


काठमाडौँ, जेठ ५
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०को एकताले मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो ।

दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उहाँले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको छ भन्नुभयो ।

आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।”

इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उहाँको भनाइ थियो ।

विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । रासस

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्