पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था : प्रधानमन्त्री


 


काठमाडौँ, जेठ ५
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताले विकास र समृद्धिका लागि सुदृढ अवस्था सिर्जना गरेको बताउनुभएको छ ।

नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गर्नुभयो । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।  उहाँले भन्नुभयो, “हामी नेपाललाई आगामी १० वर्षभित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहान्छौँ, विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ ।”

अध्यक्ष ओलीले जनतमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहनाबमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठिक ढंगले भए÷नभएकाबारे अवलोकन गर्न सांसदहरुलाई आग्रह गर्दै भन्नुभयो, “हामी नातावाद, कृपावाद र भेदभावका लागि होइन देश बनाउने संकल्प लिएर आएको हो । यसमा दायाँबायाँ गर्ने छुट छैन । संसद् सरकार फेर्नेदेखि कानून बनाउनेसम्मको थलो भएकाले यसमा चनाखो रहनुहोला ।”

पार्टीको प्रतिनिधिसभाको संसदीय दलको नेतासमेत रहनुभएका ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नीति कार्यक्रममा कुनै कमजोरी रहेमा नेतृत्वलाई भन्नुहोला, संसद्को बैठकमा पार्टीको मर्यादा रहने गरी यसको पक्षमा बोल्नुहोला ।” उहाँले देशको आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुन सक्ने दोहोर्याउनुभयो । रासस

प्रकाशित मिति: ५ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्