मोरङमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


 


मोरङ, जेठ ४
मोरङका दुई छुट्टा–छुट्टै स्थानमा आज भएका घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको केराबारी गाउँपालिका – ८ स्थित भित्री सडक खण्डमा सिटी रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार एक बृद्धको मृत्यु भएको छ ।

केराबारी चोकबाट हचुवातर्फ जाँदै गरेको मे १ ह ४१६ नम्बरको सिटी रिक्सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ६८ वर्षिय पुष्प कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका बृद्धलाई उपचारका लागि स्थानीय सारथी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा परेको सिटी रिक्सा र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका – ७ मधुमल्लामा करेन्ट लागेर आज विहान एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएका स्थानीय अर्जुन राईको छोरा १६ वर्षिय सुनिल राईको उपचारका क्रममा मृत्यु भएको हो । आफ्नै काका सन्तोष राईको घरमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

घाइते राईलाई उपचारका लागी अरनिको हस्पिटल उर्लाबारी ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्