बोको हरामका १५ लडाकू मारिए


 


अबुजा, जेठ ४

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ ।

उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, चार जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताउनुभयो ।
बोको हराम विरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो ।

अपहरणबाट मुक्त भएकाहरुलाई बुझाइसकिएको प्रवक्ताले जानकारी दिनुभयो । नाइजेरिया सरकारले मे महिनामा मात्रै अहिले सम्म बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।

यसैबीच, नाइजेरियाली सेनाले देशका विभिन्न ठाँउमा गरेको सुरक्षा कारबाहीका क्रममा बोको हरामका १५ लडाकु मारिएका छन् ।

बुधबार अबेर दिएको जानकारी अनुसार नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरू मारिएका हुन् ।
बोको हरामका चार जना लडाकू सेनाले थापेको विद्युतीय धरापमा परेर ज्यान गुमाएका हुन् भने अरु ११ जनालाई लुकिरहेको बेला घेरेर सुरक्षा कारबाही गरिएको थियो ।

सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्