केपी ओलीले भने – अर्को चुनावमा कम्युनिष्टको तीन चौँथाई मत


 


काठमाडौँ, जेठ ३
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपाले अर्को चुनावमा तीन चौँथाई मत ल्याउने दाबी गर्नुभएको छ ।
आज साँझ राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै ओलीले कम्युनिष्टका लागि दुईतिहाई मत समान्य जोडघटाउ मात्र भएको बताउनुभएको छ ।

ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताउँदै भन्नुभयो, ‘संसदमा बहुमत सहित एउटै पार्टीको सरकार भयो । अब कम्युनिष्टका लागि दुई तिहाई सामान्य जोड घटाउ हो । अर्को चुनावमा दुई तिहाई होइन तीन चौँथाई ल्याउँछौँ ।’

पार्टी एकताको विषयमा मानिसहरुले ठट्टा गरिएको बताउँदै कतिपयलाई ६ महिनाअघि ठट्टा लाग्ने एकता वास्तविकतामा परिणत भएको बताउनुभयो ।

जीवनमै सबैभन्दा खुसी अनुभूति गरेको बताउँदै ओलीले आजको कार्यक्रममा सम्बोधन गर्दा प्रचण्डको गलामात्र अवरुद्ध भएको, पुष्पलाल जीवित भएको भए मञ्चमै खुशीले नाच्ने बताउनुभयो । पार्टीका दुई अध्यक्ष भएको सम्बन्धमा बोल्दै ओलीले भने ‘एउटैमात्र चालक हुनलाई टेम्पो चलाएको हो र ? जेट विमानका त दुई जना नै पाइलट हुन्छन् ।’

प्रधानमन्त्री ओलीले काँग्रेस वैधानिक हिसाबले प्रमुख प्रतिपक्षी भएपनि आफूले त्यसरी नहेर्ने बताउनुभयो । ओलीले नेपाली काँग्रेसलाई कटाक्ष गर्दै एउटा चुनाव हार्दा काँग्रेस आत्तिएको बताउनुभयो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्