नयाँ बन्ने पार्टीको स्थायी समिति ४५ सदस्यीय हुने


 


काठमाडौँ, जेठ ३
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बन्ने नयाँ पार्टीमा ४५ सदस्यीय स्थायी समिति हुने भएको छ । यसअघि ४३ सदस्यीय स्थायी समिति बनाउने दुई अध्यक्षबीच सहमति भएको थियो । तर, आज बसेको एकता संयोजन समिति बैठकले २ जना थपेर ४५ सदस्यीय बनाउने निर्णय गरेको हो ।

जसमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् । हाल एमालेको स्थायी समिति २५ सदस्यीय छ । दुई अध्यक्षबीचको सहमति अनुसार स्थायी समितिमा एमालेका एक जना छुटेका थिए ।

अब एमालेको हालको स्थायी कमिटीका सबै नेताहरु एकीकृत पार्टीको पनि स्थायी समितिमा नै रहने भएका छन् । माओवादीबाट भने एकीकृत पार्टीमा रहने नेताहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिइएको छ ।

साथै एकता संयोजन समितिको बैठकले पार्टीको प्रवक्तामा माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ र महासचिवमा एमालेबाट बिष्णु पौडेललाई बनाउने निर्णय गरेको छ । साथै बैठकले नेताहरुको बरियताको टुङ्गोपनि लगाएको छ ।

बरियतामा दुई अध्यक्ष क्रमश केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल छन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्