आज मदन -आश्रित स्मृति दिवस मनाईदै


 


काठमाडौं, जेठ ३
नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २५ वर्ष पुगेको छ ।
नेकपा एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदैछन् ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । आज बिहान बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालयमा हुने कार्यक्रममा एमाले र माओवादी केन्द्र दुबै पार्टीका शिर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा स्मृति दिवस मनाईदैछ । स्मृति दिवसकै अवसर पारेर आज दुई पार्टीबीच एकताको घोषणा गरिँदैछ ।

दिवसकै अवसरमा मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रम गरिँदैछ । दिउँसो १ बजेपछि हुने कार्यक्रममा मदन भण्डारीको विचार, मानवअधिकार र समृद्ध राष्ट्रको आधार भन्ने विषयमा अन्तरक्रिया गरिने प्रतिष्ठानका सह–सचिव अग्नि भट्टराईले जानकारी दिनुभयो ।

रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्