आज एमाले र माओबादीबीच एकता हुँदै, यस्तो भयो सहमति


 


काठमाडौं, जेठ ३
एमाले र माओबादी केन्द्रबीच आज पार्टी एकता हुँदैछ । बुधबार प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छोटो समयको छलफलले जनतालाई सरप्राइज दिने गरि विहीबार पार्टी एकता गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार आज दुई पार्टी एक हुन लागेका हुन् । यसअघि मिल्न नसकेका सबै विषयहरु टुंगिएका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रचण्ड र जनयुद्ध उल्लेख गर्ने सहमति भएको छ । नयाँ पार्टीको सांगठनिक संरचनामा केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ र माओवादीबाट २०० को प्रतिनिधित्व हुनेछ ।

त्यस्तै, स्थायी समिति ४३ सदस्यीय, पोलिटब्युरो १४५ सदस्यीय र केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १४५ सदस्यीय बनाउने सहमति भएको छ । यसमा पनि सोहीअनुपातमा भागबण्डा गरिएको बताइएको छ ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच आलोपालो अध्यक्षता गर्ने र चुनाव चिह्न सूर्य नै राख्ने सहमति भएको छ ।

यस्तो छ, पार्टी एकताको कार्यतालिका
सर्वप्रथम आज विहान ७ः३० बजे बल्खुस्थित मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण गर्ने कार्यक्रम छ ।

बिहान १० बजे पार्टी एकताको निर्णय गरिने र १ बजेसम्म दुई पार्टीले छुट्टाछुट्टै पार्टीको बैठक बोलाएर पार्टी विघठन गर्नेछन् । त्यसपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिसकेपछि औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गरिनेछ ।

यसअघि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठनबन्धन गरेका दुई ठूला बाम दलबीच एकता भएपछि इतिहासकै ठूलो जनमत प्राप्त दल हुँदैछन् ।

प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । दुवैको जोड्दा दुईतिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ । जसले ५२.३७५ जनमतको प्रतिनिधित्व गरेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्