पार्टी एकता निर्णायक मोडमा


 


काठमाडौँ, जेठ २
नेकपा एमालेको आजको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ र चाँडै मिति घोषणाका लागि पार्टी एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको र एक/दुई दिनमै पार्टी एकता हुने जानकारी उहाँले बैठकलाई गराउनुभएको एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिहीबार बिहान संयोजन समितिको बैठकले मिति तय गरेमा त्यसपछि बोलाइएको एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठकले अनुमोदन गर्ने बताउँदै भन्नुभयो, “लामो समयदेखि एकताको मिति पर्खिरहेका वाम कार्यकर्ता र आम जनताले अब कुर्नुपर्ने दिन सकियो । विधि र प्रक्रियाका काम सकेर चाँडै एकता हुन्छ । अबको संयोजन समितिको बैठक कोशेढुंगा सावित हुनेछ ।”

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ ।

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए । बैठकमा नेताहरुले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव पनि दिनुभएको थियो ।

भण्डारी स्मृतिमा प्रचण्ड पनि सहभागी हुने

यसैगरी, एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी हुनुहुने भएको छ ।

एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । रासस

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्