ओली र प्रचण्ड यसरी भए सहमत, अब पार्टी एकताको मिति कहिले ?
काठमाडौँ, २ जेठ
पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको छ ।
दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार