आजदेखि जेठ महिनाभर मलमास, के–के गर्न मिल्दैन ?


 


काठमाडौं, जेठ २
आजदेखि जेठ ३० गतेसम्म मलमास सुरु भएको छ । अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा १२ महिना हुन्छन् ।

गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् ।

यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया ३० दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि ३० तिथिकै हुन्छ । एउटा महिनामा दुईवटा औँसी पर्दा त्यो महिना मलमास हुने पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।

मलमासको वेला नारायणको आराधना गरिने भएकाले यसलाई पुरुषोत्तममास पनि भन्ने गरिन्छ । मलमासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने बताइन्छ ।

विशेष पूजाआजा, यज्ञ–अनुष्ठान लगायत गर्भाधान, व्रतबन्ध, विवाहजस्ता संस्कारहरू गर्न मिल्दैन । मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम माहत्म्य सुन्ने र दान गर्ने परम्परा छ ।

भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । पुरुषोत्तम महिनामा गरेको पूजा अरु महिनाको भन्दा अधिक फल प्राप्त हुन्छ भन्ने विश्वास समेत गरिन्छ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्