एक वर्षमा भारतबाट १८ अर्बको विजुली !


 


काठमाडौं, जेठ २
स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ ।

यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ। नागरिकमा खबर छ ।

दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । दैनिक रुपमा भारतबाट करिब ५ करोड ७ लाखरुपैयाँको बिजुली आयात भइरहेको छ ।

चालू आवको १० महिनामा १ अर्ब ९३ करोड युनिट बिजुली भारतबाट आयात गरिएको जानकारी प्रवक्ता अधिकारीले दिए । उनका अनुसार चालू आवका बाँकी दुई महिना सकिँदासम्म करिब २ अर्ब युनिट बिजुली आयात हुने देखिन्छ ।

‘चालू आर्थिक वर्षको अन्त्यसम्म १८ अर्ब रुपैयाँको हाराहारीमा भारतबाट बिजुली आयात हुने अनुमान छ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने, ‘यो गत आवको भन्दा बढी हो ।’गत आवमा १४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली आयात भएको थियो ।

एक मेगावाट बिजुली उत्पादन गर्न करिब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ । यो हिसाबले भारतबाट चालू आवमा बिजुली किनेको पैसाले एक सय मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्