सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


 


काठमाडौँ, जेठ २
सर्वोच्च अदालतले जनप्रतिनिधिले छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने चापाकोट नगरपालिका स्याङ्जाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने सो नगरपालिका शिक्षा समितिको गत चैत १५ गते र गत वैशाख २ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘चापाकोट नगरपालिकाको शिक्षा समितिको बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्नु÷नगराउनु यथास्थितिमा राख्नु ।’

सोही नगरपालिकाका स्थानीय डिल्लीराज आचार्यले स्थानीय तहका जनप्रतिनिधि र शिक्षक कर्मचारीहरुले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी भर्ना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा मात्र पढाउनुपर्ने कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिका र नगर प्रमुखका नाममा आदेश दिएको छ भने दुवै पक्षलाई छलफलका लागि यही जेठ ६ गते बोलाएको छ । रासस

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्