‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग


 


काठमाडौँ, जेठ १
प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

उहाँहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज र आवश्यक भएको र आफू तराई मधेशका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको थियो । रासस

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्