हावाहुरीले दुई सय बढी विद्युत पोलमा क्षति, विद्युत सहज बनाउन एकहप्ता लाग्ने


 


धनगढी, जेठ १
हावाहुरीका कारण कैलालीमा जिल्लामा दुई सय बढी विद्युतका पोलमा क्षति पुगेको छ ।

सबै भन्दा बढी धनगढी क्षेत्रमा एक सय बढी पोलमा क्षति पुगेको छ । मुख्यतथा शाखा लाइनका पोलहरुमा बढी क्षति पुगेको छ । हावाहुरीले फूलबारी क्षेत्रमा ३०, अत्तरियामा ५० र पहलमानपुरमा २० पोलमा क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ ।

हावाहुरीले धनगढी वितरण केन्द्रको विद्युत बजारको केही क्षेत्रमा आज साँझबाट सञ्चालनमा आएपनि अन्य भित्रि सडक तथा ग्रामिण क्षेत्रमा भने सञ्चालनमा आउन नसकेको विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र प्रमुख धिरेन्द्र यादवले जानकारी दिए ।

हावाहुरीले विद्युत लाइन तहसनहस भएपछि धनगढी वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सुचारु गर्न करिब एक हप्ता लाग्ने विद्युत वितरण केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

एक दिन विद्युत सेवा बन्द हुँदा धनगढीमा सञ्चालन हुने विद्युतीय रिक्सा समेत आज सञ्चालन हुन सकेनन् । जसले गर्दा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

धनगढी वितरण केन्द्रअन्तर्गत विद्युतका ७० हजार ग्राहकहरु रहेका छन् । ७० हजार ग्राहकहरु मध्ये १६ हजार ग्राहकले सहकारीहरुमार्फत विद्युत प्रयोग गरिरहेका छन् । धनगढी वितरण केन्द्रबाट ६८ प्रतिशत ग्राहकले विद्युत उपभोग गरीरहेका छन् ।

हावाहुरीले कैलालीको पूर्वि क्षेत्र टीकापुरमा पनि केही क्षति पुर्याएको छ । हुरीले तार सहितका पोल ढल्दा एक दिनसम्म विद्युत अवरोद्ध भएको टीकापुर विद्युत केन्द्रका प्राविधिक गंगाराम कठायतले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्