एमाले-माओबादीबीच मतभेद चुलिँदै, के हुन्छ एकता ?
काठमाडौं, जेठ १
सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ ।
पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । अन्नपूर्णमा खबर छ ।
यसले दुई पार्टीको एकता प्रक्रियामा समेत प्रभाव पार्न थालेको छ । सैद्धान्तिक–राजनीतिक विषयदेखि संगठनात्मक संरचनासम्म एकरूपता कायम गरी एकताको अन्तिम निर्णय लिन दुई अध्यक्षलाई जिम्मेवारी दिइएका बेला खटपट देखिन थालेको हो ।
सरकार सञ्चालनमा देखिएका यस्ता मतभेदले पार्टी एकता प्रक्रियाको छलफलमा समेत दुई अध्यक्षबीच गम्भीर छलफल हुन नसकेको नेताहरू बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकतालगायत अन्य विषयमा छलफल गरिरहेका छन् । मंगलबार एमाले नेता माधव नेपालसँग परामर्श गर्ने उनको तयारी छ । सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए ।
तर सरकारका प्रवक्ता तथा सञ्चारराज्यमन्त्री गोकुल बास्कोटाले भने अहिले सरकारमा रहेका दुई पार्टी (एमाले–माओवादी) बीच असमझदारीका कुनै पनि विषय नभएको दाबी गर्छन् ।
प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार